Wednesday 30 October 2013

आलमदेवीको कथा र यसको इतिहास

स्याङजा जिल्लाको रिडी लसर्घा स-साना बान्कि परेका थुम्का थुम्कि, नागबेली परेका नदि नाला, बाँदरे भिरपाखा तथा मनोरम बेशीहरुको प्राकृतिक सौन्दर्यताले गर्दा अत्यन्तै रमणीय देखिन्छ । पूर्बतिर लतमन्न पसारिएका प्रसिद्द हिमाल अन्नपूर्ण र माछापुछ्रे , पश्चिम उत्तर धौलागिरि हिमालको कहाली लाग्दो गगनभेदी उचाईको दृष्यले यसको सुन्दरतामा चार चाँद नै लगाएको छ । तल पट्टी अबिरल बग्ने कालीगण्डकी र यसको सौम्य र शान्त बहाबले त झन् यस्को सुन्दरतालाई झनै निखारी रहेको छ । श्रिनगर डाँडो र तात्कालीन पाल्पाका बडाहाकिम खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा गण्डकीको तिरमा बनाएको रानीमहल जस्तो सामरीक महत्वको दृष्याबलोकन यहाँबाट प्रष्ट गर्न सकिने हुँदा यहाँको सुन्दरता बयान गरेर साध्य नै छैन ।
alamdevi syangja
यहाँ बग्ने चिसोहावा र शितलताको माधुर्यतापूर्ण स्पर्शले गर्दा शरिरका प्रत्येक अंगहरु आफैमा जागृत भए जस्तो भान पर्न थाल्छ । हरियाली भिरपाखाहरुमा देखिने सुगन्धित फूलहरुको मोहनीलाग्ने सुन्दरता र तिनीहरु प्रतिको आकर्षणले त झन सोर्ह बर्षे बैंश र ति दिनका रागहरुको तिर्सना नै मेटाईदिन्छन् । उच्चभूमी नै भएर होला निरन्तर बेगमा बग्ने पवनको मिठासपूर्ण गुञ्जन र भीमकाय डाँडाहरुको सुन्दरतम दृष्यले कता कता मनमा काउकुती लगाईदिन्छ र त्यहि शितल बहाब संगै खेल्न मन लाग्छ अनि उडेर तिनै भीमकाय डाँडाहरुमा टेक्न पनि मन लाग्छ । भौगोलीक विकटता आखिर जिल्ला भरि कहाँ नै पो छैन र ! यहि विकटता पार गरीसके पछीको स्वर्गिय आनन्दको अनुभूति सबैतिर नपाईन पनि सक्छ तर आलमदेबीको बासस्थान भूमि र यहाँ आईपुग्दा मनमा घट्ने उल्लासता सबै स्थानको भन्दा उच्च रहेको महशुस हुन पुग्छ । हुन त मेरो शरिरको अवतरण यस भूमिमा भएको थिएन तापनि यहाँ पुग्दा यस्तो लाग्थ्यो मानौं ‘मेरा सयौं जन्महरु र जिवनगाथाका अनेकौं गीतहरु आज पनि यिनै पाखा, पखेरा र कन्दराहरुमा कालीगण्डकीका शुसेलीहरु सँगै शदियौं देखि गुन्जिई रहेछन् र बोलाई रहेछन् हर पल।‘ यसैले यस पावन भूमीमा पहिलो पाईला टेक्दा जो कोही पनि मन्त्र मुग्ध हुन पुग्छ र जिवन नै धन्य भएको महशुस गर्न पुग्छ ।

शाह बंशका प्रथम ब्यक्ति भूपाल राणाजी राव ई.स.१५०१ तिर (इतिहास शिरोमणि बाबुराम आचार्यको अनुसार ) भारतको राजस्थान प्रान्तको मेवाढ जिल्ला चित्तौडगढबाट पश्चिम नेपाल डोटी , दुल्लु , जुम्ला हुँदै पाल्पाबाट स्याङजाको लसर्कामा आई बसोबास गरेका थिए भन्ने भनाई रहँदै आएको छ । देख्नमा अँग्रेजी अक्षेर ‘यु’ आकारको बनाबटमा रहेको कालीगण्डकी बिचको उच्च डाँडोको समथर भू-भागलाई आफ्नो रजस्थल केन्द्र बनाई हाल आलमदेबी मन्दिर रहेको ठाऊँ नै नेपालका ठकुरी शाहबंशीय राजघरानाहरुको उदगम स्थल रहेको तथ्य इतिहासमा प्रष्ट भैसकेको छ ।

आलमदेबीलाई खासगरि भूपाल राणाजी रावका दुई छोरा मध्ये एक खाञ्चा खाँन तथा उनि र उनका सन्ततिले बिस्तार गरेका राज्य भीरकोट , गर्होंकोट तथा ढोर र अर्का छोरा मिञ्चा खाँन र उनि र उनका सन्ततिले बिस्तार गरेका राज्य नुवाकोट(स्याङजा), सतौंकोट(स्याङजा), कास्कीकोट, लमजुङ र गोर्खा राज्य अन्तरगतका खाँण, शाह तथा शाहीहरुले आफ्नो कुलदेबीका रुपमा पुज्दै आएका छन् । सबै उपलब्ध सामग्रिहरुको अध्ययन अनुसन्धान र यसको इतिहासलाई कोट्याउँदै जाँदा सबै लेखक, इतिहासकार यबँ टिप्पणीकारहरुबाट मिल्दा जुल्दा कुराहरु नै पाईएका छन् । ईस्बि सम्बत १५०० ताका भारतमा मुस्लिम राजाहरुको निकै ठुलो दबदबा थियो। यिनिहरुको भिषण आक्रमणलाई थेग्न नसकी भूपाल राणाजी राब पनि पलाएन भई नेपाल छिरेको कुरा इतिहासकारहरु बताउँछन । यसैक्रममा आफू र आफ्नो परिबार सँगै आफ्नी ईष्टकुल देबीलाई पनि साथमै ल्याएका थिए यिनले । बिशेष श्रद्दाका साथ डोलीमा राखेर ल्याएकी देबीलाई भुईँमा राख्न नहुने हुँदा निकै सतर्कता अपनाईएको थियो र राजालाई देबीले सपनामा आई “ मलाई भुईंमा नराख्नु ” भनी आदेश समेत दिएकी रहिछन् । जहाँ जहाँ रात पर्थ्यो र बास बस्नु पर्ने हुन्थ्यो, देबीको डोलीलाई बिशेष सुरक्षाका साथ भुईंमा नराखी जमिन भन्दा माथिनै अड्याएर राखिन्थ्थो होला सायद रुखमा या काठको गल्छेडो बनाई डाँडी झैं झुण्याईन्थ्थो होला । यसैक्रममा ल्याउँदा ल्याउँदै पाल्पाबाट स्याङजा सिमाना छिर्ने बेलामा लसर्का बिर्घामा आईपुग्दा रात परेछ र सबैजना बास बसेछन् । देबीको डोलीलाई पनि नजिकै भिमसेनपातीमा राखिएछ । बिहानपख ‘अब त हिंड्नु पर्यो’ भनि डोलेहरुले डोली लिन जाँदा डोली रित्तै पाएछन् र हस्याङ फस्याङ गर्दै राजामा सो कुराको जाहेरी चडाएछन् । त्यसपछी सबै गाउँलेहरुलाई जम्मा गरि देबीलाई खोज्न लगाईएछ र खोज्दै जाँदा देबी त्यही भूमीमा भासिएको पाएछन । भए भरको तागत र बल लगाउँदा पनि देबीलाई बाहिर निकाल्न नसके पछि राजा सहित सबैजना निरास हुन पुगेछन । तर त्यसै दिन सपनामा आई देबीले राजालाई भनिछन् “ तिमीले मलाई छाना नभएको मुण्डा मन्दिर बनाई बिधिपूर्वक यहीं पूजा गर ” भनेकाले राजाद्वारा त्यहिं नै देबीलाई प्रतिस्थापन गराई बिधिपूर्वक पूजा शुरु गराएछन् ।
दोश्रो जनश्रुती अनुसार : भूपाल राणाजी राबकी छोरी ”सदल”लाई सम्राट अकबरले बिहेको लागि माग्दा नदिएपछि उनको राज्यमा अकबरले आक्रमण गरेछन् । यस पश्चाद सदलले आत्म हत्या गरिन् र भूपाल राणाजी राब दिल्ली छाडी उज्जैनमा गएर बसेछन् । त्यहाँ यिनीहरुका दाजुभाई बिचमा झगडा पर्न गएछ । केहि समय पश्चात राती राती सपनामा “एकभाई उत्तराखण्ड जाउ”भनेकाले यिनी आफ्नो सबै बन्दोबस्ती सहित उत्तरतर्फ लागेछन् । उत्तरखण्डको यात्रामा देबीलाई पनि संगै लिएर आएछन् र राती सुत्दा समेत देबीलाई हातैमा लिएर सुत्ने गर्थे रे । स्याङजाको लसर्घा सम्म आईपुग्दा भिमसेनपाती नेर बासबस्दा निद्रामा देबी हातबाट खसिछन् र भनिछन् “ तिमीले बेलुका खाएको पानी रक्सी पारेको पानी थियो, अशुद्द पानी खाएकाले म तिम्रो हातमा बस्दिन” यती भनेर देबी त्यहीं नै बासबसेको ठाउँमा अलप भईछन् ।

तेश्रो जनश्रुति अनुसार : रिडीको वारिपट्टी स्याङजातर्फ एउटा शिला छ जसलाई ‘हनुमान ढुङ्गो’ भन्ने गरिन्छ । हनुमानको प्रिय बस्तु सिंदुर भएकाले त्यस ढुंगालाई पनि हनुमान मानी सिंदुरले पोतेर पूजा आजा गर्ने गरिन्छ । भूपाल राणाजी राब पहिले त्यहीं आएर बसेछन् । हिंड्ने बेलामा कुलदेबीको मुर्ति चलेनछ र राजाको घोडापनि हिंडेनछ । जति नै प्रयास गरेपनि घोडा नहिंडेकाले रिडीघाटको बोटेले “ बुझ्नु न सुझ्नु कोर्रामात्रै हिर्काउने” भनेछ । त्यो सुनेर के भनेका हौ ? भनेर सोधेछन् । ति आगन्तुक राजाका अरु ३ भाई पनि रहेछन् । बोटेले भनेछ “ त्यहाँ बाँगे देउता छन् , तिनलाई च्वाँचे(सुँगुर) चढाउनु पर्छ।“ बाँगे भनेको च्वाँचे हो । त्यसपछी च्वाँचे किन्न पठाएर बली चढाई पुजा गरेछन्।

पूजाको प्रसाद भनेर च्वाँचेको मासु खानु पर्ने रहेछ । भाईहरुलाई खाउ भन्दा नमानेर तपाईंले पूजा गरेकाले तपाईं नै खानुस भनेछन्।प्रसाद नखाए देउता रिसाउने डर,खाए जात जाने डरले राजालाई पिरोलेछ । देउताकै डर मानेर राजाले प्रसाद खाएछन् ।“अभक्ष्य खायौ,अब तिमी मास्सियौ” भनेर भाईहरुले दाजुलाई छाडेर हिंडेछन् । त्यसपछि यिनले त्यहीं मगरकि छोरी बिहे गरेर देबीको पूजा चलाएर बसेछन् । भाईहरुले “ मास्सियौ “ भनेकाले यिनी मास्की मगर कहलाएछन् । आजसम्म पनि आलमदेबीको पूजा यिनै मास्की थरका मगरले गर्दै आएका छन् ।

अहिले आलम देबीको पूजा गरिने ठाउँमा प्वाल थियो रे । त्यहि प्वालमा देबी अलप भएकी हुन् भनिन्छ । यस प्वालबाट पैसा खसाल्दा निकै नै तलसम्म गएको आवाज सुनिने कुरा बुढापुरानाले भन्ने गरेको पाईन्छ र हाल यो प्वाल बुझिएको अवस्थामा रहेको विस्वास गरिन्छ । खासगरि यहाँ देबीको प्रतिक स्वरुप पत्रे शिला र त्रिसुलको पूजा गर्ने गरिन्छ । मन्दिर पनि देबीकै ईच्छा बमोजीम छाना नलगाइएको खुला नै छ । मन्दिरको एकापट्टी दशैंमा सुंगुरको बलि पनि दिईने गरिन्छ । यस मन्दिरको यत्रतत्र खुँडा र खुकुरी छरिएको देख्न पाईन्छ । यि हतियारहरुलाई दशैंको बेला साँद लाउनकालागि दरबन्दी पनि गरिन्छ । यि हतियार कुनै युद्दमा प्रयोग गरिएका नभै लाहुरेहरुले बिदेशमा जाँदा सकुशल फर्कन पाउँ भनि देबीलाई चढाएका हतियार हुन् रे । यो हतियार चढाउने परम्परा अहिले पनि चालु नै रहेको छ। यहाँका धेरै हतियारहरु दोश्रो बिश्वयुद्दमा लाहुरेहरुले चढाएको कुरा स्थानियबासीहरुले भन्ने गर्छन् ।

आलमदेबीको मन्दिर निर्माण, बिकासक्रम र यस्को जिर्णोदारको इतिहासलाई खोज्दै जाँदा बि.स. १८९८ मा श्रि ५ रणबहादुर शाहबाट गुठीको ब्यवस्था गरी मास्के थरका मगरजातीका पुजारी समेत नियुक्त भएको तथ्य पाईन्छ र यिनै मास्के जातका मगरहरुले आजसम्म पनि पुजा गर्दै आईराखेका छन् । २००४ सालमा कमाण्डर इन चिफ रुद्रशमशेर राणा र २००९ सालमा तत्कालीन भिर्कोटे राजा (बडाहाकीम) तारकबहादुर शाहलाई जिर्णोदारका लागि खटाईएको थियो । २०१४ मा राजा महेन्द्रको पश्चिमाञ्चल पैदल यात्रा हुँदा यस मन्दिरमा सवारि भई पाटी पौवा बनाउन केही रकम पनि दिइएको इतिहास पाईन्छ । यसै गरि २०३३ सालमा श्रि ५ बिरेन्द्र पोखरा सबारि हुँदा दशैंघर , पाहुना घर र सतल निर्माणका लागि रु ५५०००.०० आर्थिक सहयोग दिएका रहेछन् ।

पूजारीको नियुक्ति र पूजा व्यवस्था : आलमदेबीको पूजा मास्की थरका राना मगरले गर्ने परम्परा रहेको छ । सो पूजा ५-७ बर्ष देखि बढीमा १४ बर्ष उमेरसम्मका कुमार केटाहरुले मात्र गर्नु पर्छ । त्यो उमेर नाघ्नासाथ पूजारी फेर्नु पर्ने रहेछ । मन्दिरको बीचमा धुर्सुको रुख छ,त्यसैको फेदमा चक्र परेजस्तो पत्रेशिला रहेको छ र यहि शिलामा नै पूजा गर्ने गरिन्छ । त्यो रुख भूपाल राणाजी राब कै समयदेखि यथाबत छ भन्ने विस्वास रहेको छ । झण्डै पन्हौं शताब्दीको शुरुकाल देखि । आफ्नो बाल्यकाल देखिनै यस रुखलाई देख्ने ले जहिले पनि यो रुख त्यस्ता को त्यस्तै रहेको भन्ने गर्छन । त्यहाँ पूरानो दमाहा र कर्नाल रहेको छ । शाके १७०८ लेखेको दमाहा र एउटा कर्नाल सहित १०० मुरी खेत मन्दिरका नाममा चढाईएको कुरा दमाहामा लेखिएको छ । त्यो दमाहा र कर्नाल बिहान बेलुका नगरा लगाउन बजाईने गरिन्छ । पूजा चलाउने परम्परा पनि पूजारीका सन्तान दर सन्तानले गर्दै आएका छन् । कथंकदाचित पूजारीका पूरुष सन्तान भएनन् भने दाजुभाईका सन्तानहरुबाट पूजा चलाउने परम्परा रहेछ । गुठीका कागजपत्रहरु पूजारी संग रहेको र यस्को आयस्ता बिभिन्न दरबन्दीका कर्मचारीहरुले पाउने रहेछन् । यि कर्मचारीहरुको मुख्यकाम :फुल टिप्ने,खुँडा खुकुरीमा साँद लगाउने,नगरा बजाउने,पूजाका भाँडा माझ्ने,मन्दिरको सरसफाई गर्ने ईत्यादी रहेको छ । आलमदेबीमा नौनी घ्यूको धूप चढाईने गरिन्छ यसैले यहाँ नौंनी घ्यूको थुप्रो लाग्ने गर्छ । यहाँ चढाउन ल्याईएको नौंनी र बोकाको टाउको पूजारीले तोकेको दस्तुर तिरी अरुले पनि लैजान मिल्ने बनाईएको छ । यहाँ बोका, राँगा, कुखुरा, परेवा आदीको बलि दिईने गरिन्छ ।

आलमदेबीको मन्दिरदेखि २ कि.मि. जति पश्चिम-दक्षिणमा तलतिर एउटा कुवा रहेको छ । कुमार पूजारीले बिहान बेलुका त्यही कुवामा नुहाएर धोती फेरी कुवाको पानी ल्याई पूजा गर्नु पर्ने रहेछ । पूजा बिहान बेलुका नै गर्नु पर्ने रहेछ । १४-१५ बर्षको उमेरमा पूजारीबाट फुर्सद पाएपछी कुमार केटाहरु लाहुर जाने रहेछन् । यिनीहरुले पढ्न नपाउने रहेछन् । हाल आएर यि कुमार पूजारीहरुका लागि चलाईएको परम्परा समय सान्दर्भिक देखिंदैन र यिनीहरुलाई पूजाको साथ साथै शिक्षा र पूजारीबाट अबकास पाईसकेपछी रोजगारीको ब्यवस्था गरिनु पर्ने माग स्थानिय तहबाट उठीराखेको छ । तर राजा नै देशको सर्वेसर्वा हुँदा यिनीहरुकालागि केहि भएन भने अबका दिनहरुमा अरुले के पो गर्लान् !

आलमदेबी शाहबंशकी कुलायन हुनाले तिनको फूल प्रसाद बडादशैंमा राजदरबार पठाउने प्रचलन थियो । बेलाबेलामा राजाहरुको सबारी पनि भईनै रहन्थ्थो र हालसालै भएको हिमानी शाहको भेट-यात्रालाई पनि यसैको निरन्तरता मान्दा फरक पर्ने छैन । साथै स्याङजा, पाल्पा र पैंयूका खाँड, शाह यबं शेनबंशीहरुले यिनै देबीलाई आफ्नी कुलदेबीमानी पूजा गर्ने र पूजा चढाउने परम्परा रहँदै आएको छ ।

गोर्खाको मनकामना मन्दिर भन्दा पनि शसक्त र ऐतिहासिक महत्व बोकेको यस आलमदेवी मन्दिर तथा यसको आसपासको क्षेत्रलाई धार्मिक तथा प्रयटकिय स्थलको रुपमा बिकास गर्न सकेमा र आवस्यक पूर्बाधारहरुको निर्माण कार्यमा सबैतिरबाट जागरुकता देखाउन सकेमा हाम्रो जिल्लालाई देशभर चिनाउने काममा यो जति प्रबल माध्यम अरु कुनै हुने थिएन ।


ratna kafle
वालिङ-८, रामबाच्छा
हाल, काठमाण्डौ

सन्दर्भ सामग्रि: नेपालको ऐतिहासिक रुपरेखा२००८,आलमदेवी र शाह वंश२०३५, शाह बंशावली,खाँडहरुको बंशावली,भारतको इतिहास
बिशेष : महेश्वर शर्मा ( स्याङजाका चौबीसे राज्यहरुमा रुमल्लींदा )
थप - आंफैले देखे,जाने र सुनेका कुराहरु ।

No comments:

Post a Comment