Wednesday, 30 October 2013

खस आर्यहरुको वास्तविकता

खस आर्यहरुको वास्तविकता

डा. महेशराज पन्
नेपालमा शासनपद्धति फेरिएपछि वैनयिक शास्त्र लेख्ने परिषद्को अर्थात् चलनचल्तीको बोलीमा संविधानसभाको लागि वि.सं. २०६४ चैत २८ गते चुनाव भयो । त्यस चुनावका लागि बनेको ऐनमा नेपाली भाषा जन्मभाषा भएका मानिसलाई अन्यको सूचीमा राखिएको थियो ।
नेपाली भाषा जन्मभाषा भएका तिनीहरु नेपालमा बहुसंख्यक हुँदाहुँदै पनि तिनीहरु नै अन्य अर्थात् चानचुनमा परेकाले ती बहुसंख्यक जनमा असन्तोष बढ्दै गयो । यसै क्रममा तिनीहरुले आपूmलाई खस आर्य किंवा आर्य खस भनी छुट्टै पहिचान दिने माग राख्दै गए । पछि त्यो माग सिद्धान्ततः स्वीकृत पनि भयो । वैनयिक शास्त्र लेख्ने परिषद्का लागि अब आउने मंसीर ४ गते दोस्रो पटक चुनाव गर्ने निर्णय गएको जेठ ३० गते सरकारले गर्दाखेरि आफ्नो अलग पहिचानको लागि नेपालीभाषीहरुले राखेको मागको कानुनी स्वीकृति भयो । यसले गर्दा अलग पहिचानको खोजीमा रहेका त्यस्ता देशवासीहरुमा हर्षका लहर चले पनि प्रबुद्ध जानपद अर्थात् नागरिकहरुमा भने यस नामकरणले सन्तुष्टि दिएन ।
खस शब्द हाम्रो वाङमयमा प्राचीनकालदेखि चलिआएको वmुरामा सन्देह छैन । उदाहरणको लागि मनुस्मृति (१०।२२) मा व्रात्य क्षत्रीय अर्थात् जातअनुसारको संस्कार नपाएका क्षत्रीयहरुमा झल्ल, मल्ल, लिच्छवि, नट, करण, खस र द्रविडको नाउँ लिइएको छ ।
नेपालमा सयौँ सय वर्ष राज गर्न झल्ल, मल्ल र लिच्छविलाई धर्मशास्त्रमा असंस्कृत क्षत्रीयमा राखिएको यताबाट देखिएको छ । तर, नेपालको पहिलो प्रामाणिक राजवंशले आपूmलाई प्रभावशाली देवताहरुले पनि मानिएको, गङ्गाको प्रवाह जस्तो निर्मम महान् सूर्यवंशको अर्को नाउँ लिच्छवि वंश हो भन्न बाँकी राखेको छैन (पशुपतिको द्वितीय जयदेवको शिलापत्र ६ श्लोक, धनबज्र बज्राचार्य लिच्छविकालका अभिलेख, २०३१, ५४९ र ५५३ पृ.) ।
यसैगरी नेपालखाल्डोमा केन्द्र भएको राज्यका राजा मल्लहरुले पनि आपूmलाई सूर्यवंशी र क्षत्रीय भनी गर्व गरेको मनग्य प्रमाण पाइन्छन् । सिजामा राजधानी भएको, एकताका पूर्वका त्रिशूली पश्चिममा गढवाल उत्तरमा गुगे र पुह्रङ तथा दक्षिणमा दाङ र लुम्बिनीसम्म राज्य भएको, नेपालको इतिहासमा आफ्नो राज्यलाई साम्राज्य भनी गर्व गर्नसक्ने एक मात्र राजवंश पहिले चल्ल र पछि मल्ल उपनामले प्रख्यात थियो ।
मैले अन्त लेखे (मारी लकौंत–तिलुइनद्वारा सम्पादित बार्डज यान्ड मिडियम्जमा प्रकाशित, महेशराज पन्तको टुवर्ड अ हिस्टोरी अफ् द खस इम्पाएर, ई.सं. २००९, ३१९–३२० पृ.) जस्तै, स्पर्श अर्थात् क वर्गदेखि पवर्गसम्मको हरेक चौथो वर्ण अर्थात् घ, झ, ढ, ध, भ तिब्बती लिपिमा नहुने हुनाले आपूm सम्भवतः तिब्बती नभए पनि तिब्बती संस्कारको अत्यन्त प्रभावमा परेको त्यस राजवंशले आपूmलाई मल्ल भन्न थाल्नुभन्दा अगाडिका पुर्खाहरुको उपनाम भई आएको चल्ल कहीँ झल्लकै तिब्बती उच्चारण त होइन ?
संस्कृत वाङमयमा खसलाई उच्च स्थानमा नराखी हियाइएको छ । उदाहरणको लागि श्रीमद्भागवत (२।४।१८) मा किराँत, हुण, आन्ध्र, पुलिन्द, पुल्कस, आभीर, कङ्क, यवन र खसलाई पाप अर्थात् पापी तथा त्यहीँ (९।२०।३०) मा किराँत, हुण, यवन, अन्ध्र, कङ्क, खस, शक र म्लेच्छलाई अब्राह्मण्य अर्थात् ब्राह्मणद्रोही भनिएकोलाई ल्ंयाउन सकिन्छ । सिजामा राजधानी भएको राजवंशलाई खस त भनिएको छैन, तर त्यस वंशका प्रतापी राजा अशोक चल्ललाई खसदेशराजा– धिराज अर्थात् खस देशका राजाहरुका अधिराज भनी उनको पालाको, बोधगयाको, लक्ष्मण सेनको अतीत राज्यसंवत् ७४ अर्थात् वि.सं. १३१५ को शिलालेखमा लेखिएको छ (महेशराज पन्त, टुवर्ड अ हिस्टोरी अफ् द खस इम्पाएर, ३००–३०१ पृ.) ।
चौधौं शताब्दीमा लेखिएको, आजभोलि गोपालराज वंशावली भनी कहिएको, नेवारहरुको वृत्तान्तमा भने सिजाका मल्लहरुलाई खसिया भनी चिनाइएको छ (उही, ३२०–३२१ पृ.) । पछि पछि खसहरु पूर्वतिर लाग्दै जाँदा नेपाल खाल्डोमा खसहरुको स्थायी रुपले बसोबास सोह्रांै शताब्दीमा र यहाँको राजकाजमा तिनीहरुको उपस्थिति सत्रौं शताब्दीमा नै सुरु भइसकेको थियो (महेशराज पन्त, नेपालमण्डलमा अग्राधिकार, राजधानी, २०६९।६।१९, ७ पृ.) ।
काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्लको सेनामा भोटे र नेवारसँगसँगै खसहरु पनि थिए भनी पृथ्वीनारायण शाहका दरबारिया कवि ललितावल्लभले आफ्नो पृथ्वीन्द्रवर्णदय काब्यमा लेखेको कुरा यस प्रसङ्गमा स्मरणीय छ (महेशराज पन्त र नयनाथ पौडेल, इतिहास–संशोधन ३ संख्या, २०१२।४।१५।७) ।
मेरो साथमा बाहुन ठवmुरी खस र मगर गरी चार जातका सिपाही छन्, यिनमा कसको सवारी गरे चाँडो काज फत्य होला भनी पृथ्वीनारायण शाहले आफ्ना मामालाई सोध्दा बाहुनको सवार भनेको बयल हो पातक लाग्छ, ठकुरीको सवार भनेको सिंह हो पछाडि दगा हुन्छ, मगरको सवार भनेको टाँगन घोडा हो ढिलो हुन्छ, खसको सवार भनेको ताजी तुर्की घोडा हो, खसको सवार गरे चाँडो होला भने जस्तो लाग्छ भनी मामाले जवाफ दिए भनी पृथ्वीनारायण शाहकोे उपदेशमा लेखिएको कुरा त प्रसिद्धै छ ।
पृथ्वीनारायण शाहको उपदेशबाट खस भनेको कस्तो जाति हो भन्ने उत्तर त आउँदैन, तर त्यो जाति बाहुन, ठकुरी र मगरभन्दा भिन्न हो भन्नेचाहिँ बुझिन्छ । बाहुनले निर्वर्ण जातिकी स्त्रीमा अर्थात् अहिलेको शब्दमा भन्ने हो भने जनजातिकी स्त्रीमा जन्माएको सन्तानलाई नेपालको सन्दर्भमा खस शब्दले बुझाउँछ । यसको पुष्टि फ्रान्सिस बुक्यानन ह्यामिल्टनको लेखाइबाट पनि हुन्छ (यान अकाउन्ट अफ् द किङडम अफ नेपाल, ई.सं. १८१९, १८ पृ.) । थापा, घर्ती, कार्की, माझी, बस्नेत, राणा र खड्काहरु खसिया कहिन्छन्, तर तिनीहरु जनै लाउँछन् र क्षत्री जस्तै चोखीनीतिमा बस्छन् भनी उनले लेखेको कुराको सम्झना पनि यस प्रसङ्गमा हुन्छ (उही १८–१९ पृ.) \
सत्रौं शताब्दीको उत्तरार्धमा गोरखाली राजा राम शाहको वंशावलीको प्रमाणीकरणको लागि राजस्थानको मेवाड राज्यमा उनले पठाएका दूतको जातके हो भनी त्यहाँ सोधपुछ हुँदा उनले आपूm खस क्षत्रीय जातको, पाँडे थरको हुँ भनी बताएका थिए भन्ने कुरा नेपालका आयुधजीवी जातिहरुको उत्पत्ति र वर्गीकरणको विषयमा ब्रायन हाउटन हाज्सनले वि.सं. १८८९ मा बङ्गालको एसियाटिक सोसाइटीमा वाचेको प्रवचनमा भएको कुरा यस प्रसङ्गमा उल्लेखनीय छ (एसएज अन द ल्यांग्वेज, लिटरेचर एन्ड रिलिजन अफ नेपाल एन्ड टिबेट, २ भाग, ई.सं. १८७४, ३८ पृ.) ।
गोरखाबाट मेवाड पुगेका ती खस क्षत्रीयलेआफ्नो थर भनी एक थरी बाहुनहरुकै ज्यादै नै चलनचल्तीको थर पाँडे भनी बताएकाले बाहुनका असवर्णपत्नीबाट जन्मेका सन्तान खस हुने कुराको पुष्टि भएको छ । ठकुरीमा गनिने शाहहरु र खसमा पर्ने राणाजीहरुका बीचमा विवाह त्यति सजिलोसँग चलेको थिएन भन्ने कुरा इतिहासमा चाख राख्नेहरुलाई थाहा भएकै हो ।
पश्चिमका ठकुरीहरुले राणाजीहरुलाई छोरीबेटी दिने र उनीहरुका छोरीबेटी लिने गर्न थाले पनि पछिसम्म पनि उनीहरु राणाजीहरुसँग भातभान्सा चलाउँदैनथे भन्ने पनि सुनिएकै हो । एक थरी नेवारहरुले नेपालीभाषी बाहुनहरुलाई खँय–ब्रह्मु अर्थात् खस–बाहुन भन्ने गरे पनि ती बाहुनहरु आपूmलाई खस भनेकामा राम्रो मान्दैनन् । यस कारण बाहुन र झर्रा छेत्री पनि गाभिने गरी खस शब्दको विकल्प खोज्नुपरेको छ ।
खस आर्य वा आर्य खस यस शब्द रुपमा आर्य कति उपयुक्त छ भन्ने कुरामा पनि अब विचार गरौं । जबसम्म हामी पश्चिमी शिक्षा पाउँदैनौं अर्थात् ब्राह्मण महासम्मेलनको शब्द उधारो लिई भन्दा युरोपियन कुशिक्षाले ग्रस्त हुँदैनौं, हामीलाई यस प्रसङ्गमा आर्य शब्दको अर्थ लाग्दैन ।
आर्यको पर्यायमा संस्कृतको प्रसिद्धतम कोष अमरकोष (२।७।३) मा महाकुल, कुलीन, सभ्य, सज्जन, साधु दिएकोबाट पनि आर्य शब्दले हाम्रो वाङमयमा सामान्यतः जाति बुझाउँदैन भनी भन्न सकिन्छ । सूत्रधारले नटीलाई आर्या र नटीले सूत्रधारलाई आर्य भनी सम्बोधन गरेको हामीले संस्वृmत नाटकहरुमा हेरेकै छौं । लोग्नेको नाम काढी बोलाउने चलन हाम्रो परम्परामा नभएकोले संस्कृत नाटकहरुमा रानीहरुले लोग्नेलाई आर्युत्र भनी सम्बोधन गरेको हुन्छ । राजा दुष्यन्तसँग गन्धर्वविवाह गरेकी, गर्भवती पत्नी शवmुन्तलालाई राजाले पत्नी मान्न इन्कार गरेपछि शवmुन्तलाले राजासँग रिसाएर उनलाई अनार्य भनी सम्बोधन गरेको कालिदासले आफ्नो अभिज्ञान शाकुन्तल नाटकमा देखाएकोले पनि आर्य वा अनार्य शब्द जातिवाची नभई चरित्रवाची रहेछ भन्ने देखिन आएको छ । यताबाट पनि पश्चिमा शिक्षाले फैलाएको आर्य र अनार्यको भेद मूलतः हाम्रो वाङमयमा छैन । हो, पछि पछि कहीँकहीँ आर्य शब्दले अघिल्ला तीन वर्णमा अर्थात् ब्राह्मण, क्षत्रीय र वैश्यलाई बुझाउने गरेको देखिएको छ । त्यसको उदाहरणका लागि कौटलीयको अर्थशास्त्रको दासकर्मरकल्प (३।१३) अघि सार्न सकिन्छ ।
यतिसम्मका वmुराबाट खस आर्य वा आर्य खस शब्दले आवश्यक पहिचान दिन नसक्ने देखिएको छ । नेपाली भाषालाई पर्वते कुरा भन्ने चलन अझसम्म पनि गाउँगाउँमा चलिरहेको छ र पहिले पहिले यहाँ आएका विदेशीहरुले पर्वतीय भाषा भनी नेपाली भाषालाई बुझाएको देखिन्छ । यसको उदाहरणका रुपमा फ्रान्सिस बुक्यानन ह्यामिल्टनको लेखाइलाई ल्याउन सकिन्छ (यान अकाउन्ट अफ द किंडम अफ नेपाल, १६ पृ.) ।
पर्वमा अरु अरु जातिका मान्छेहरु पनि बस्ने भए पनि गुरुङ मगर आदिका आआफ्ना अभिधान भएकाले र नेपालीभाषीलाई पहिलेदेखि भित्रबाहिर सबैतिर पर्वते भन्ने चलन भएकाले तथा पर्वते शब्दभित्र खस शब्दभित्र जस्तो बाहुन र झर्रा छेत्रीहरु नगाभिने नभई सारा नेपालीभाषी गाभिने गरेको छ । खास गरी तात्कालिक नेपालमा नेपालीभाषीहरुले प्रयोग गर्ने भएकोले देवनागरी लिपिलाई पर्वतेले प्रयोग गर्ने अक्षर (यान अकाउन्ट अफ द किंडम अफ नेपाल, ई.सं. १८११, २२१ पृ.) वा पर्वते वर्णमाला (उहीः २२० र २२१ पृ. को बीचको चित्र) भनी विलियम कर्कप्याट्रिकले लेखेको कुरा पनि यस प्रसङ्गमा भन्नुपर्छ । यसैले खसको सट्टा पर्वतीय शब्द चलाउनु उचित छ र पर्वतीय शब्दको विशेष्यका रुपमा आर्य शब्द आउनुपर्छ । यसो गर्दा यस सन्दर्भका खस शब्दजस्तो पर्वतीय शब्द अव्याप्ति दोषले दूषित पनि हुँदैन । (राजधानीबाट)

No comments:

Post a Comment