Wednesday 30 October 2013

एक्ली कुसुण्डा

दाङ, आश्विन २५ - 
जंगलमा बस्ने कुसुण्डा जातिका बलबहादुर सेन ठकुरीले रोल्पाको जुर मसिनाकी युवती गोकुली पुनलाई फकाएर अर्घाखाँचीको बल्कोटस्थित जंगलमा पुर्‍याए । गाउँमा खैलाबल्ला मच्चियो, जंगलमा बस्ने वयस्क कुसुण्डाले गाउँकी चेलीलाई भगाएपछि गाउँलेहरू अचम्मित पनि भए ।

भागी विवाह भएको १९ वर्षसम्म गोकुली माइती फर्किनन् तर जब जंगली जीवनका क्रममा श्रीमान् सेनको दाङको हर्नोकस्थित जंगलमा मृत्यु भयो, त्यसपछि उनीहरूलाई शिकार खेल्न र खानाको जोहो गर्न गाह्रो भयो । श्रीमान्को मृत्युपछि गोकुली दुई छोरा र तीन छोरीलाई लिएर माइतीमा फर्किन् । उनलाई गाउँमा र्फकन निकै गाह्रो भएइहेको थियो, माइतीमा पस्न पाइने हो कि होइन भन्ने अन्योलका बीच माइतीमा पुग्दा त्यस्तो केही भएन । अनि गाउँमा बस्न पाइन् ।

माइतीमा बस्दाबस्दै छोराछोरीको विवाह भयो । त्यसमध्ये विभिन्न समयमा सबै छोराछोरीको मृत्यु भयो । त्यसपछि एक्ली कुसुण्डाका रूपमा बचिन् माइली छोरी ज्ञानीमाया । उनले चैलाही ३ कुलमोडका काले राना मगरसँग विवाह गरिन् । अहिले उनका एक छोरा, दुई छोरी र आठ नाति र ५ नातिनी भइसकेका छन् । ७५ वषर्ीया यी वृद्धा जंगलबाट गाउँको यात्रा गरेर बचेका थोरै वृद्धामध्येकी एक हुन् ।

जंगली फिरन्ते जीवनको अन्त्य भए पनि आफ्नो जातिको पहिचान दिने कुसुण्डा भाषाको संरक्षण गर्न कुसुण्डा वृद्धा ज्ञानीमाया लागेकी छिन् । बुढेशकालमा आराम गर्नुको साटो उनी भाषाको प्रचारप्रसार गर्दै शिक्षिकाको रूपमा क्रियाशील छिन् । जंगलमा बोल्ने गरेको भाषालाई कसरी बचाउने भन्ने चिन्ताले उनलाई सताएको छ । घरमा आउने जो कोहीलाई पनि उनी आफ्नै भाषामा भन्छिन्, सजाक अर्थात् नमस्ते । कुसुण्डा भाषामा घरलाई उइ, मान्छेलाई नु, टाउकोलाई इपी, दाँतलाई उ भन्छन् । उनी यस्ता अनेक शब्द सुनाएर सबैलाई छक्क पार्छिन् ।

'जंगलमा हिँडेका कुसुण्डाहरू छैनन्, नयाँ छोराछोरी र नातिनातिनाले त्यो भाषा सिक्न मन गर्दैनन्,' उनले भनिन्, 'अब आफ्नो मृत्युपछि यो भाषा यसरी लोप भएर जान्छ कि भन्ने चिन्ता छ ।' त्यसैले उनी दिनरात कुसुण्डा भाषा सिक्न चाहनेलाई शिक्षिका बनेर सिकाइरहेकी छिन् । श्रीमान् काले रानाको २०२९ सालमा मृत्यु भएपछि उनले चैलाहीकै मानबहादुर पुनसँग विवाह गरिन् । उनीबाट एक छोरी जन्मिन् तर वैवाहिक सम्बन्ध राम्रो हुन नसकेपछि उनले २०६८ मंसिर २७ गते सम्बन्ध विच्छेद गरिन् ।

अहिले उनी जेठा श्रीमान्तर्फका छोरा प्रेमसँग बसिरहेकी छिन् । नाति विशाल, विक्रम, विप्लव र नातिनीहरू कल्पना, रक्षासँग खेलेर उनले अधिकांश समय बिताउँछिन् । उनी नातिनातिनालाई भाषा सिकाउने प्रयास गर्छिन् । ७ वर्षकी कान्छी नातिनी रक्षाले मात्रै भाषामा रुचि लिइरहेकी छिन् । उनी साँझबिहान रक्षालाई कुसुण्डा भाषा लेख्न र बोल्न सिकाउँछिन् ।

९ वर्षको उमेरमा जंगलमा बस्दा सिकेको कुसुण्डा भाषा उनले अहिलेसम्म कति पनि बिर्सेकी छैनन् । कुसुण्डा भाषाको विषयमा अध्ययन गर्नेहरू उनको घरमा महिनौंसम्म बसेर जान्छन् । उनी पूरै समय दिएर सिकाउँछिन् । 'मेरो भाषाको खोजी हुन थालेकोमा साह्रै खुसी लागेको छ,' उनले भनिन्, 'महिनैपिच्छे भाषा सिक्ने मानिसहरू आउँछन् । यसले मलाई उत्साहित बनाएको छ । हाम्रो जातिको पहिचान नै हराउन थालेको बेला भाषाको संरक्षण हुन सकेमा धेरै उपलब्धि हुने थियो ।'

भाइ, दिदी र कान्छा बुवाकी छोरी कमलाले पनि भाषा बोल्थिन् तर भाइ र दिदीको मृत्यु भइसक्यो । कमला विवाह गरेर भारत गएकी आजसम्म फर्केकी छैनन् । भाषा बोल्ने कोही नभएपछि उनलाई साह्रै चिन्ता भएको छ । 

जंगल कुसुण्डाहरूकै हो भन्ने ठानेर डर मान्दै हिँड्ने राउटे जाति अहिलेसम्म पनि जंगलमै छ । तर वनराजाको रूपमा सर्वेसर्वा भएर जंगलमा बसेका ज्ञानीमाया जस्ता कुसुण्डाहरू भने व्यवस्थित जीवनको खोजीमा गाउँ नजिक बस्न थालिसकेका छन् । जंगलमा बस्दा कुसुण्डा राजा थियो भने राउटे रैती । राजाले रैतीबाट कर उठाउने भएकाले जंगल बसेबापत कर तिर्नुपर्छ भनेर राउटेहरु कुसुण्डादेखि भाग्थे । त्यतिबेलाको रैती राउटे अहिलेसम्म पनि गाउँ बस्न मानिरहेको छैन तर त्यसबेलाको राजा कुसुण्डाको जंगल बसाइँ समाप्त भइसकेको छ ।

जिल्लामा १० परिवारका ९० जना कुसुण्डाहरू रहेको कुसुण्डा समाजका अध्यक्ष धनबहादुर सेन बताउँछन् । कुसुण्डाहरू विगतमा मृगका चाल सुन्दै जंगल चहार्ने गर्थे । 'इंगिन चिर्ते' अर्थात् 'रात पर्‍यो जाउँ' भनेपछि उनीहरू दिनभरिको सिकार खेल्ने कामलाई रोकेर साँझपख जंगल छेउको झुप्रोमा र्फकन्थे । चार/पाँच जनाको समूह भएर वनमा तरुल खन्ने, धनुकाँड बोकेर सिकार खेल्ने र गाउँबाट सिदा -भिक्षा) उठाएर जंगलमा लगेर खाने गरेका जंगली जीवनका दिनहरू कुसुण्डाको मानसपटलमा ताजै छन् । 

कुसुण्डाहरू 'वनराजा' 'कुसुण्डा' 'वनकरिया' जस्ता नामले चिनिन्छन् । जंगलमा घुम्ने, बस्ने वातावरण नभएपछि र अग्रजहरूको मृत्यु भएपछि पछिल्लो पिंढी त्यत्तिकै लोप हुँदै गएको उनीहरूको दुःखेसो छ । दाउरा-पानी नजिक हुने, सिकार गर्न पाइने र एकान्तमा बस्न पाउनेजस्ता जंगली जीवनका धेरै आकर्षणहरू भए पनि समूहमा हिँड्ने खालको आफ्नो जातिको संख्या नभएकाले अब व्यवस्थित सामाजिक जीवनको खोजीमा रहेको समाजका अध्यक्ष सेन बताउँछन् ।
दुर्गालाल के.सी.
कान्तिपुर

प्रकाशित मिति: २०७० आश्विन २६ १०:१७


No comments:

Post a Comment